खुकुरी देखाएर युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ

ताजा

दाङ, असार ३ गते — दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगर रहेका छन् । उनले करिब तीन महिनाअघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाउँदै डर–धम्की दिई कुटपिट गरेको भिडियो मंगलबार बेलुका आफ्नै फेसबुक आईडीमार्फत सार्वजनिक गरेका थिए ।
भिडियो सामाजिक सञ्जालमा फैलिन थालेपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले तत्काल अनुसन्धान अघि बढाएको थियो । त्यसक्रममा मंगलबार राति करिब १०:४० बजे मगरलाई उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको साथबाट लागुऔषधजन्य सामग्रीसमेत बरामद गरेको छ । बरामद गरिएका सामग्रीमा Pregamax १ ट्याब्लेट, Trohmo ४१ ट्याब्लेट, Antikop २ ट्याब्लेट र Nitrazohm ५ ट्याब्लेट रहेका छन् ।
घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा तुलसीपुर–२ बालापुर निवासी २१ वर्षीय जिबराज खत्रीलाई पनि नियन्त्रणमा लिइएको छ । दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
युवतीमाथि भएको कुटपिटको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । प्रहरीले घटनाको सम्पूर्ण पक्षबारे अनुसन्धान जारी रहेको जनाएको छ ।