माईजोगमाई, इलाम । माईजोगमाई गाउँपालिकाका विभिन्न वडाहरूमा पछिल्लो समय जंगली जनावर चितुवाको बिगबिगी बढ्दै गएको भन्दै स्थानीयवासी त्रसित बनेका छन् । चितुवाले गाउँ नजिकै आएर घरपालुवा जनावरमाथि पटकपटक आक्रमण गर्न थालेपछि स्थानीयहरू चिन्तित बनेका हुन् ।
स्थानीयका अनुसार चितुवाले बाख्रा, भेडा, कुकुर लगायतका घरपालुवा जनावरलाई आक्रमण गरी मारेको घटनाहरू बढ्दै गएका छन् । रातिको समयमा मात्र नभई दिउँसै पनि चितुवा बस्ती नजिक देखिन थालेपछि मानिसहरूमा डरको वातावरण सिर्जना भएको छ ।
चितुवाको त्रासका कारण स्थानीयवासीहरू घाँस, दाउरा तथा अन्य वनजन्य सामग्री संकलन गर्न जंगल जान समेत डराउन थालेका छन् । विशेषगरी महिला, वृद्ध तथा बालबालिकाहरू बढी प्रभावित भएका छन् । कतिपय स्थानमा विद्यालय जाने बालबालिकासमेत अभिभावकको साथमा मात्रै हिँड्न बाध्य भएका छन् ।
स्थानीयवासीहरूले चितुवाको समस्या समाधानका लागि सम्बन्धित निकायसँग पटकपटक माग गरे पनि प्रभावकारी पहल हुन नसकेको गुनासो गरेका छन् । उनीहरूका अनुसार गाउँपालिकाले चितुवा नियन्त्रण तथा स्थानीयको सुरक्षाका विषयमा आवश्यक चासो नदेखाएको आरोप लगाएका छन् ।
स्थानीयले वन कार्यालय, गाउँपालिका तथा सरोकारवाला निकायलाई चितुवाको व्यवस्थापन, निगरानी र नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्न आग्रह गरेका छन्। समयमै उचित पहल नगरिए मानविय क्षति समेत हुन सक्ने भन्दै स्थानीयवासीहरूले चिन्ता व्यक्त गरेका छन् ।
यता, चितुवाको बढ्दो आतंकका कारण माईजोगमाई क्षेत्रका बासिन्दा दैनिक जीवन सञ्चालन गर्नसमेत कठिनाइ भोग्न बाध्य भएका छन् । स्थानीयहरूले आफ्नो सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन् ।

